
शिव शक्ति केमोप्लास्टको व्यवसायमा फड्को



काठमाडौँ। शिव शक्ति केमोप्लास्ट प्राइभेट लिमिटेडको व्यापारमा उल्लेख्य सुधार देखिएको छ। पर्साको चोर्नीलाई मुख्य कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको यस कम्पनीले सन् २०२५ मा १ अर्ब १४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको रेटिङ रिपोर्टअनुसार कम्पनीको आम्दानी र नाफामा पछिल्ला वर्षहरूमा निरन्तर सुधार आइरहेको छ । रिपोर्टअनुसार आर्थिक वर्ष २०२३ देखि २०२५ सम्म कम्पनीको कुल सञ्चालन आम्दानी वार्षिक औषत ११ प्रतिशतका दरले बढिरहेको छ । सन् २०२३ मा ९२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२४ मा १ अर्ब ७० लाख र सन् २०२५ मा १ अर्ब १४ करोड ९० लाख रुपैयाँको व्यापार गर्न सफल भएको हो ।
घरेलु र निर्यात मागमा आएको सुधारका कारण व्यापार बढेको रिपोर्टमा उल्लेख छ । कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि गराएको क्रेडिट रेटिङमा ७३ करोड २१ लाख ६० हजार रुपैयाँको कर्जा सीमा निर्धारण गरिएको छ । कम्पनीको सुधारिएको वित्तीय अवस्थालाई मध्यनजर गर्दै इन्फोमेरिक्स नेपालले यसअघिको रेटिङमा अपग्रेड समेत गरेको छ ।
कम्पनीले लिएको ६ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि ‘डबल बी प्लस’ र ६७ करोड रुपैयाँ बराबरको अल्पकालीन ऋणका निम्ति ‘ए फोर प्लस’ रेटिङ प्रदान गरिएको छ ।
दुई दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको शिव शक्ति केमोप्लास्ट नेपालको पोलिप्रोपिलिन प्याकेजिङ सामग्री उत्पादन क्षेत्रमा स्थापित नाम हो । यो कम्पनी सन् १९८७ देखि सक्रिय रहेको अनुभवी ‘शिव शक्ति ग्रुप’ अन्तर्गत पर्दछ । कम्पनीको नेतृत्व निर्देशक राहुल कुमार अग्रवालले गरिरहेका छन्, जो सन् १९९६ देखि विभिन्न उद्योगहरूमा आबद्ध छन् । कम्पनीले पिपी वोभन फ्याब्रिक्स, बोरा र मल्टि-लेयर सिटहरू उत्पादन गर्दै आएको छ ।
कम्पनीको कारखाना पर्साको चोर्नीमा भारत-नेपाल सीमा नजिकै अवस्थित हुनु यसको ठुलो व्यावसायिक सबल पक्ष हो । यसले गर्दा कच्चा पदार्थ आयातमा ढुवानी खर्च कम हुनुका साथै भारततर्फको निर्यातलाई पनि सहज बनाएको छ । सन् २०२५ मा कम्पनीको कुल बिक्रीमा निर्यातको हिस्सा करिब ५९ प्रतिशत रहेको छ, जसको मूल्य ६७ करोड ५० लाख रुपैयाँ बराबर छ ।
प्लाष्टिक उत्पादन उद्योग पुँजी र श्रम प्रधान हुने भएकाले यसमा केही चुनौतीहरू पनि देखिएका छन् । कम्पनीको सञ्चालन मुनाफा सन् २०२५ मा ५.८४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष (सन् २०२४) मा २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले सन् २०२५ मा २ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
ऋण तिर्न सक्ने क्षमताका आधारमा कम्पनीको वित्तीय अवस्था सुदृढ देखिन्छ। सन् २०२५ मा कम्पनीको ब्याज कभरेज अनुपात ६.१९ गुणा र ऋण सेवा कभरेज अनुपात ५.४० गुणा रहेको छ ।
यद्यपि, कम्पनीसामु कच्चा पदार्थका लागि पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने र अमेरिकी डलरको विनिमय दरमा हुने उतारचढावको जोखिम रहेको छ । झन्डै ९६ प्रतिशत कच्चा पदार्थ आयात हुने र त्यसमा पनि ८९ प्रतिशत भारतबाटै आउने गरेको रिपोर्टमा उल्लेख छ । त्यस्तै, यो व्यवसाय ‘वर्किङ क्यापिटल इन्टेन्सिभ’ प्रकृतिको भएकाले बैंकको अल्पकालीन ऋणमा निर्भरता उच्च रहेको छ ।
रिपोर्टअनुसार शिव शक्ति केमोप्लास्टले आगामी दिनमा आधुनिक मेसिनरीमा लगानी गरी उत्पादन क्षमता र गुणस्तर बढाउने योजना बनाएको छ । भारतीय र नेपाली बजारमा हुने नीतिगत परिवर्तन र प्रतिस्पर्धाका बीच कार्यशील पुँजीको प्रभावकारी व्यवस्थापन र नाफाको मार्जिनमा सुधार ल्याउनु कम्पनीको मुख्य प्राथमिकता रहने देखिन्छ ।

