
आईपीओ जारी गर्दै निगालो होटल, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल



काठमाडौं । निगालो होटल लिमिटेडले साधारण शेयर जारी गर्ने प्रक्रिया अघि बढाउन विक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
एक औपचारिक कार्यक्रममा निगालो होटल लिमिटेडका तर्फबाट अध्यक्ष टिका राज बरालले र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा चार्टर्ड अकाउन्टेण्ट अनिल पौडेलको पनि सभागिता रहेको थियो ।
नगरकोटमा अवस्थित परम्परागत तथा सांस्कृतिक शैलीको वास्तुकला झल्कने यस चार तारे होटलले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८,७५,००० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ ।
कम्पनीका अनुसार निगालो होटलले परम्परागत हेरिटेज अनुभव र आधुनिक आतिथ्य सेवा मार्फत फरक पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ । होटल परिसरबाट हिमाल, काठमाडौं, भक्तपुर तथा ललितपुर उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने विशेष भ्यू टावर रहेकोले यसले विशिष्ट पहिचान बनाउने विश्वास व्यक्त गरिएको छ । साथै, यस परियोजनामार्फत पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

