
बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शनिबारदेखि



काठमाडौं । जिल्ला समन्वय समिति काठमाडौंको समन्वय, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ३ सय ५० खेलाडीको सहभागिता रहने बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले बुधबार थलीस्थित आयोजक नगरपालिकाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताको सिनियर/जुनियर पुरुषमा समान ५–५ तथा सिनियर÷जुनियर महिलामा समान ५–५ गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
लिगको यो दोश्रो संस्करणको पहिलो प्रतियोगिता हो भने समग्रमा पाँचौं प्रतियोगिता हो । यसअघि लिगको पहिलो संस्करणमा ४ प्रतियोगिता भएका थिए । लिगको हरेक संस्करणमा एक वर्षको अवधिमा ३ महिनाको अन्तरालमा एउटा प्रतियोगिता हुने गरेको छ । त्यसअन्तर्गत दोश्रो संस्करणमा पनि चार प्रतियोगिता हुनेछ ।
लिगमा हरेक तौलसमूहमा पहिलो हुनेलाई १०, दोश्रोलाई ७ र तेश्रोलाई ३ अंक प्रदान गरिने छ । चार वटा लिग सम्पन्न भएपछि खेलाडीको प्रदर्शनका आधारमा एक उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ । अब हुने लिगको हरेक स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्ने उपत्यका बाहिराका खेलाडीलाई आगामी लिगमा खाना, बसोवास र यातायातको सुविधा पनि दिइने छ । मोटरसाइकल पुरस्कारसहित दुवैको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौंले गर्ने लिगका परिकल्पनाकार जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रदर्शनलाई नै मध्यनजर गरी चौथो लिगको समाप्तिमा हरेक तौलसमूहमा शीर्ष तीन स्थानमा रहने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार ५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने छ । कागेश्वरी नगरपालिकाका मेयर उपेन्द्र कार्कीले खेलकुदलाई प्रवद्र्धन गर्न सके देशकै अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिने धारणा राख्दै कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्ट्स हब नगरका रुपमा विकास गर्न चाहेको बताए । उनले प्रतियोगितालाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
समन्वय समितिका प्रमुख बुढाथोकीले स्थानिय तहसंग समन्वय गरी विभिन्न कार्यक्रमसहित खेलकुदमा पनि सहकार्य गर्दै आएको बताउदै खेलाडीलाई स्वदेशमै टिक्ने वातावरण बनाउन स्थानिय तहको पनि ठूलो भूमिका रहने बताए । बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष पुरीले समन्वय समितिका प्रमुख बुढाथोकीकै पहल र अग्रसरतामा विभिन्न पालिकासंग सहकार्य गरी लिग आयोजना गर्न सम्भव भएको बताउदै उनको कार्यको प्रशंसा गर्दै धन्यवाद दिए ।
पत्रकार सम्मेलनमा शीर्ष तीन स्थानमा रहने टिमलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो । दुईदिने प्रतियोगिताका खेलहरु थलीस्थित आयोजक कागेश्वरी नगरपालिकाको हातामा खेलाइने छ । यसअघि नागार्जुन, टोखा, बूढानीलकण्ठ र तार्केश्वर नगरपालिकामा लिग भएको थियो ।

