
अमेरिकाको धरौटी भिसा लाग्ने मुलुकको सूचीमा नेपाल, २१ लाख धरौटी र सीमित एयरपोर्ट प्रयोग गर्न पाइने



काठमाडाैं । अमेरिकाले नेपाली नागरिकलाई भिसा बन्ड आवश्यक पर्ने देशहरूको सूचीमा राखेको छ। अमेरिकी विदेश मन्त्रालयले गैर–आप्रवासी (बी १/बी २) भिसामा अमेरिका प्रवेश गर्ने केही देशका नागरिकका लागि धरौटी रकम अनिवार्य गर्ने पाइलट कार्यक्रमअन्तर्गत नेपालसहित सात देश थप गरेको हो।
याे नयाँ व्यवस्थासँगै अब नेपाली नागरिकले अमेरिकाको भ्रमण भिसा (बी १/बी २) का लागि आवेदन दिँदा भिसा शुल्कबाहेक अतिरिक्त धरौटी रकम पनि तिर्नुपर्नेछ। धरौटी रकम ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरमध्ये कुन हुने भनेर अन्तर्वार्ताको क्रममा कन्सुलर अधिकारीले निर्धारण गर्नेछन्। जुन नेपाली रुपैयाँमा करिब ७ लाख २२ हजारदेखि २१ लाख ६६ हजार रुपैयाँसम्म पर्छ।यो व्यवस्था आगामी जनवरी २१ देखि लागू हुने बताइएको छ।
धरौटी बुझाउँदा आवेदकले होमल्यान्ड सेक्युरिटी विभागको इमिग्रेशन बण्ड फारम समेत बुझाउनुपर्नेछ। साथै, धरौटी रकम अमेरिकी ट्रेजरी विभागको आधिकारिक अनलाइन भुक्तानी प्रणाली पे डट जीओभी मार्फत मात्र तिर्नुपर्नेछ।
कन्सुलर अधिकारीले निर्देशन दिएपछि मात्र फारम बुझाएर धरौटी तिर्ने, यदि अधिकारीको निर्देशनबिनै कसैले रकम तिर्यो भने त्यो रकम फिर्ता नहुने चेतावनी समेत दिएकाे छ।

