
आज सार्वजनिक बिदा, देशभर हर्षोल्लासका साथ मनाइँदै तमु ल्होसार



काठमाडाैं । तोला अर्थात् तमु ल्होसार तमु/गुरुङ्ग समुदायको महान चाड आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचानसँग जोडिएको यो पर्व भव्य रूपमा मनाइरहेका छन्।
तमु ल्होसारमा ‘तमु’ भनेको गुरुङ्ग वा तमू हो भने ‘ल्होसार’ भनेको नयाँ वर्ष हो। यो पर्व बिकम सम्बत पात्रोको पुष महिनाको १५ गते मनाइन्छ। तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ साल सुरु भएको सङ्केत गर्दछ।प्राचीन तमु प्यो शास्त्र अनुसार तमु ल्होसारको दिनममा तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ।
विशेषगरी पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछिका दिन क्रमशः लम्बिँदै जाने भएकाले यो पर्वलाई अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा व्याख्या गरिन्छ।
सूर्यको तापक्रम र भौगोलिक अवस्थासँग पनि यस पर्वको ऐतिहासिक सम्बन्ध रहेको बताइन्छ। गुरुङहरूको बसोबास रहेको लमजुङ, गोरखा, कास्की, मनाङ, स्याङ्जा लगायतका पहाडी जिल्लाहरूमा सूर्यको ताप पहिले महसुस हुने भएकाले पुस महिनामै ल्होसार मनाउने परम्परा विकास भएको विश्वास गरिन्छ।
ल्होसारको अवसरमा संघीय सरकारले आज सार्वजनिक बिदा दिएको छ। राजधानीको टुँडिखेल क्षेत्रमा विशेष रौनक छाएको छ भने आइतबारदेखि सुरु भएको ल्होसार महोत्सव अन्तर्गत आज विविध सांस्कृतिक कार्यक्रम र प्रदर्शनको आयोजना गरिँदैछ।
कसरी मनाइन्छ तमू ल्हाेसार ?
ल्होसारको दिनभन्दा अघिल्लो साँझदेखि नै गुरुङ्ग समुदायमा यसलाई मनाउन सुरू गरिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरेर आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ।
ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर (स्योकै)भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ। ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै मौलिक भेषभुषामा सजिन्छन्। शिरवन्दी, पिरुमाला, मखमली चोली, घलेक, निलो पटुकी, कालो टिकिस, छिट्को गुन्यु र बुट्टेकर्मु (मजेत्रो) महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, आङमा भोटो, आस्कोट, भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पाखी, पटुकी बाँध्छन्।
अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर गुरुङ समुदायमा प्रचलित मौलिक चुड्का नाच नाचेर आफ्ना परिवार, ङोलो ङोल्स्यो साथीभाइहरूसँग रमाइलो गर्छन्।

