
सिजी होल्डिङ्सको ‘सिग्नेचर प्लेटिनम टावर’को प्रभावशाली पहिलो वर्ष, साढे १५ करोडको व्यापार



काठमाडौं । सिजी होल्डिङ्स ग्रुपको ‘सिग्नेचर इभेन्ट्स’ प्रालिद्वारा सञ्चालन गरिएको ‘सिग्नेचर प्लेटिनम टावर’को ठूलो आर्थिक सफलता हासिल गरेको छ । टावरले एकै वर्ष साढे १५ करोड हाराहारीको व्यापार गरेको छ ।
कम्पनी गत वर्ष सन् २०२४ को डिसेम्बर महिनामा सञ्चालनमा आएको थियो । तर, संचालनमा आएको छोटो समयै ठुलो कारोबार गर्न सफल भएको छ । कम्पनीले सन् २०२५ मा कम्पनीले १५ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
सिग्नेचर प्लेटिनम टावरले विशेषत: इभेन्ट बुकिङ र बैंक्वेट सेवाहरू मार्फत नै उच्च कारोबार गरेको जनाएको छ ।
व्यवसायिक परिसरमा विविध प्रकारका सेवाहरू सञ्चालन भइरहेका छन् । जसमा मल्टिपर्पोज हल, भीआईपी कक्ष, अफिस स्पेस र रेस्टुरेन्ट जस्ता सुविधाहरू रहेको कम्पनीले जनाएको छ ।
सिग्नेचर इभेन्ट्सले १ अर्ब ३७ करोड ५० लाख रुपैयाँको लागतमा उक्त टावर निर्माण गरेको हो । सिग्नेचर प्लेटिनम टावरको निर्माण कार्य २०२४ डिसेम्बर महिनाबाट सुरु भएको थियो । सञ्चालनपछि बुकिङ सेवामा आएको वृद्धि र व्यापारिक स्थलको विस्तारले संस्थालाई ठूलो आर्थिक सफलता दिलाएको कम्पनीले जनाएको छ ।
२०२० सेप्टेम्बर १८ मा दर्ता भएको सिग्नेचर इभेन्ट्स प्राइभेट लिमिटेड (एसइपीएल) ‘सिग्नेचर प्लेटिनम टावर’ निर्माण तथा सञ्चालनका लागि स्थापना गरिएको विशेष उद्देश्यको कम्पनी (एसपीभी) हो । ललितपुरको झम्सीखेलमा अवस्थित बहुतले व्यावसायिक कम्प्लेक्स सिग्नेचर प्लेटिनम टावरमा सात तले संरचना रहेको छ । जसमा बहुउद्देश्यीय हल, भीआईपी कक्ष, कार्यालय कक्ष तथा रेष्टुरेन्ट सञ्चालनमा छन् ।
कम्पनीको अध्यक्षतामा तीन दशकभन्दा बढी उद्यमशील अनुभव भएकी शिला चौधरी रहेकी छन् । कम्पनीका सम्पूर्ण सेयर संस्थागत प्रवद्र्धकहरूको स्वामित्वमा रहेको छ ।
सेयर संरचना अनुसार सिग्नेचर प्लेटिनम टावर प्राइभेट लिमिटेडको ३२.४७ प्रतिशत, एसोसिएटेड अटोमोबाइल्स प्राइभेट लिमिटेडको ३१.१८ प्रतिशत, के.एम.सी. अटोमोबाइल्स प्राइभेट लिमिटेडको २९.१० प्रतिशत तथा सी.जी. प्रोपर्टिज प्राइभेट लिमिटेडको ७.२४ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले ८७ करोड १६ लाख रुपैयाँ बराबरको दीर्घकालिन कर्जाका लागि रेटिङ गराएको छ ।

