
एमालेको मतदान बेलुका ८ बजे सकिने, नतिजा सार्वजनिक साढे १० बजेअघि



काठमाडाैं । नेकपा एमालेमा आज नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
एमालेको ११औं महाधिवेशनमा अध्यक्षका प्रत्याशीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका छन् । सुरुमा मतदान गरेका ओली र पोखरेललाई ४० मिनेट समय लागेको छ ।
अहिले अन्य प्रतिनिधिहरुले धमाधम मतदान गरिरहेका छन् । एक जनालाई २५ देखि ४० मिनेटसम्म समय लागेको मतदान गरेका प्रतिनिधिहरु बताएका छन्।
बिहान ९ बजेर २० मिनेटमा अध्यक्षका प्रत्याशीले मतदान गरेर शुरू गरेका थिए । उक्त मतदान प्रकृया हेर्दा ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने अनुमान गरिएको छ ।
एमालेमा दुई प्यानल भएर चुनावी मैदानमा होमिएका छन् । ओली तेस्रो कार्यकालका लागि अध्यक्षको पदमा उम्मेदवार छन् भने यस अगाडि वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरले पनि अध्यक्षको उम्मेदवार छन् ।

