
सर्वोच्चको आदेशपछि शाक्यको पुन:स्थापना, प्राधिकरणमा फर्किएर पदबहाली



काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुन: जिम्मेवारीमा फर्किएका छन् ।
अदालतले शाक्यको सरुवा आदेशलाई बदर गर्दै उनलाई प्राधिकरणमा कार्यरत रहन अनुमति दिएको हो ।
गत कात्तिक १७ गते शाक्यले आफूलाई कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको थियो । कार्यकारी निर्देशकको जिम्मेवारी मनोज सिलवाललाई दिइएको थियो ।
शाक्यले आफूलाई पदबाट हटाइने निर्णय विरुद्ध अदालतमा पुगेका थिए । अदालतको फैसलामा शाक्यको सरुवा प्रक्रियामा कानूनी मन्जुरी नलिइएको र यसलाई असंवैधानिक ठहर गरेको थियो ।
अदालतको सुरुवाइपछि सोमबार शाक्यको पुनस्र्थापना गरिदिएको हो । योसँगै शाक्यलाई प्राधिकरणमा फर्किने बाटो खुलेको थियो । सर्वोच्च अदालतको निर्णयपछि बुधवार शाक्यले पुन: कार्यभार सम्हालेका छन् ।

