
सौरभ समूहको सर्वोत्तम स्टिलको एकै वर्ष ८ अर्ब ७२ करोडको व्यापार, साढे ७ लाख टन उत्पादन क्षमता



काठमाडौं । देशको निर्माण क्षेत्रमा चहलपहल बढ्दो छ । जसले स्टिल उद्योगलाई पनि गतिशिल बनाएको छ । यसै बेला सर्वोत्तम स्टिलको व्यापार पनि उच्च दोहोरो अंकमा वृद्धि भएको छ । एकै वर्ष कम्पनीले साढे ८ अर्ब बढीको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२४ मा ६ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । तर, सन् २०२५ मा भने २७.२३ प्रतिशत बढेर ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँ कायम भएको छ । एक वर्षको अवधिमा कम्पनीले १ अर्ब ८६ करोड रुपैयाँ बराबरको थप कारोबार गरेको छ ।
कम्पनीले आफ्नो बजार उपस्थिति झन बलियो बनाएको छ । कम्पनीले सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख र सन् २०२२ मा ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सौरभ समूहअन्तर्गत सन् २०१७ मा स्थापना भएको सर्वोत्तम स्टिल सन् २०२१ मा पब्लिक कम्पनीको रूपमा रुपान्तरण भएको हो ।
कम्पनीले सन् २०२२ देखि डण्डी, बिलेट र बाइन्डिङ वायर उत्पादन तथा व्यापार गर्दै आएको छ । हाल कम्पनीको वार्षिक उत्पादन क्षमता ७ लाख ६४ हजार १६० मेट्रिक टन रहेको छ ।
व्यापार संरचना हेर्दा कम्पनीको आम्दानी डण्डीमा अत्यधिक निर्भर रहेको देखिन्छ । सन् २०२४ र २०२५ का कारोबारमा मात्रै डण्डीको हिस्सा ९० प्रतिशत भन्दा बढी छ, बाँकी आम्दानी बिलेट र वायरबाट आएको छ ।
कम्पनीले कर्जा रेटिङका लागि कुल ६ अर्ब ४४ करोड ४० लाख रुपैयाँ बराबरको सुविधा मूल्यांकन गराएको छ । यसमा १ अर्ब ३ करोड ४६ लाख रुपैयाँ दीर्घकालीन कर्जा तथा ५ अर्ब ४१ करोड रुपैयाँ अल्पकालीन कर्जा रहेको छ ।
बजार विस्तारित, उत्पादन क्षमता र कर्जा सुदृढिकरणका आधारमा सर्वोत्तम स्टिलले आगामी वर्षहरूमा अझ आक्रामक उचाइ लिने संकेत देखिन्छ ।
समूहको व्यवसायिक दायरा स्टिल, सिमेन्ट, स्पिनिङ मिल, चिया बगान लगायतका क्षेत्रमा फैलिएको छ । विशेषगरी लक्ष्मी स्टिल्स, जगदम्बा सिमेन्ट र सर्वोत्तम सिमेन्ट लगायत समूहले संचालित उद्योगहरूसँगको सहकार्यले कम्पनीलाई सप्लाइ चेनदेखि वितरण प्रणालीसम्म महत्वपूर्ण फाइदा पुग्ने विश्लेषण गरिएको छ ।
कम्पनीको व्यवस्थापन पाँच सदस्यीय सञ्चालक समितिद्वारा संचालन छ । जसले उत्पादन र उद्योग व्यवस्थापनमा व्यापक अनुभव बोकेको छ ।
कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेलाई व्यापार तथा उत्पादन क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । त्यस्तै, सञ्चालक उत्सव न्यौपाने र ममता शर्मालाई स्टिल उत्पादन तथा व्यवसायिक प्रबन्धनमा अनुभव छ, जसले कम्पनीको प्राविधिक तथा व्यवस्थापकीय पक्ष थप मजबुत बनाएको छ ।

