
यूनाइटेड अजोड इन्स्योरेन्सको आम्दानी र व्यवसायमा प्रगति



काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार चालू आवको प्रथम त्रैमासमा कम्पनीको आम्दानी र व्यवसायमा उल्लेख्य वृद्धि भएको हो।
गत आवको तीन महीनामा यस कम्पनीले कुल १९ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको तीन महीनामा २७.२१ प्रतिशतको वृद्धि सहित २४ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३२ करोड रुपैयाँबाट १३.५७ प्रतिशतले बढेर ३६ करोड ३४ लाख रुपैयाँ नाघेको छ भने कुल खर्च पनि ३४ करोड ५९ लाख रुपैयाँबाट ६७.५० प्रतिशतले बढेर ५७ करोड ९४ लाख रुपैयाँ कटेको छ।
यता गत आवको पहिलो तीन महीनामा आफ्ना अभिकर्ताहरूलाई ७४ लाख रुपैयाँ कमिशन बापत दिएको कम्पनीले त्यसको तुलनामा चालू आवमा ८०.८१ प्रतिशत वृद्धि गर्दै झण्डै १ करोड ३४ लाख रुपैयाँ अभिकर्तालाई कमिशन बापत दिएको छ।
चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब २ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा साढे ४ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ करोड रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६९.४९ रुपैयाँ छ भने प्रतिशेयर आम्दानी २६.१८ रुपैयाँ ऋणात्मक रहेको छ।


