
खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै

मुस्ताङ । बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका जोड्ने (कागबेनी–छुसाङ) ९ किलोमिटर सडक आजदेखि सञ्चालनमा आएको छ । शनिबारदेखि विभिन्न स्थानमा उपकरण प्रयोग गरी सुरु गरिएको कागबेनी–छुसाङ सडक आवश्यक मर्मतपछि आजदेखि सडकमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको पहलमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय र कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको सहकार्यमा सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।
उनका अनुसार कागबेनी–छुसाङ अवरुद्ध सडक सञ्चालनमा आएसँगै बारागुङ मुक्तिक्षेत्र–३ छुसाङमा फसेका झण्डै ३५० भन्दाबढी सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् । ‘छुसाङमा कति सङ्ख्यामा सवारीसाधन अड्किएका छन् भनी प्रहरीचौकी कागबेनीलाई विवरण सङ्कलन गर्न भनेका छौँ, जीप, कार, मोटरसाइकल र मालवाहक गरी ३५० भन्दाबढी साधन अड्किएको भन्ने छ, छुसाङमा रोकिएका सबै सवारीसाधन जोमसोम झर्दै गरेका छन्’, उनले भने ।
कागबेनी–छुसाङसम्मको सडक सञ्चालनमा आए पनि कोरलानाका जोड्ने बारागुङ मुक्तिक्षेत्र–३ चैलेमा अवरुद्ध सडकको मर्मतका लागि उपकरणसहित टोली त्यसतर्फ प्रस्थान गरेको लामाले उल्लेख गरे । ‘अहिले चैलेमा समस्या छ, त्यहाँ पर्खाल निर्माण गरी फिलिङ गरिएको करिब ३५ मिटर सडक पहिरोले भाँसिएको छ, आज साँझसम्ममा सडक मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको छ’, उनले भने । चैले सडक मर्मतका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट पनि टोली त्यसतर्फ आइसकेको उनको भनाइ छ ।
भन्सार सेवा प्रभावित
हिमपात र प्रतिकूल मौसमका कारण लोमान्थाङ–२ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवाप्रवाह प्रभावित भएको छ । मंगलबारको हिमपात र त्यसपछिको अविरल वर्षाका कारण मुस्ताङ भन्सार कार्यालयको सेवा अवरुद्ध बनेको मुस्ताङ भन्सार कार्यालयका अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए।
भन्सार जाँचपासका लागि विद्युत् र इन्टरनेट सुविधा आवश्यकपर्ने भए पनि केही दिनयता उपल्लो मुस्ताङमा विद्युत् र इन्टरनेट सुविधा अवरुद्ध भएकाले भन्सार कार्यालयमा नेपाल–चीन आयात÷निर्यातका मालवस्तु जाँचपासमा हुन नसकेको भन्सार अधिकृत सुवेदीको भनाइ छ ।
जोमसोम–कोरला सडक अवरुद्ध भएका कारण पनि भन्सारका केही कर्मचारीहरु कार्यस्थलमा आउन नसकेको तर भन्सार एजेन्टहरु पहिले नै यहाँ आएर बसेको अधिकृत सुवेदीले जनाए ।
विद्युत् र इन्टरेनट सेवा अवरुद्ध हुँदा कोरला नाकाबाट आयात गरिएका चिनियाँ सामान ढुवानी गरिएको झण्डै ५० भन्दा बढी मालवाहक कन्टेनर भन्सार कार्यालयमा रोकिएको भन्सार अधिकृत सुवेदीले बताए । कागबेनी–कोरला सडक अवरुद्ध हुँदा झण्डै १०० भन्दा बढी मालवाहक सवारी दुईदिनदेखि कोरला नाका जान नसकी जोमसोम र कागबेनीमै रोकिएका छन् ।


