
सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । सातको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार मापक नेप्से परिसूचक आज ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा पुगेको छ । यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक बढेको छ।
सेयर बजारसँगै आइतबार सेयर कारोबार रकम पनि बढेको छ । गत बिहीबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा आइतबार ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएको १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ । बाँकी १ उपसमूहको परिसूचक घटेको छ।
आज वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.१७ प्रतिशत बढेको छ। आज जीवन बीमा उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेको छ । यता होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन १.१० प्रतिशत घटेको छ।


