
बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो समझदारी, १५ दिनमा माग पुरा गर्ने कुलमानको प्रतिवद्धता

काठमाडौं । काठमाडौंको फोहोर विसर्जन स्थल बञ्चरेडाँडा पुगेर मन्त्री कुलमान घिसिङले आइतबार स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू सँग छलफल गरेर समझदारी जुटाएका छन् । यससँगै करिब एक सातादेखि स्थानीय बासिन्दाले फोहोर फाल्न गरेको अवरोध खुल्ने भएको छ।
‘मन्त्रीजी आज बञ्चरेडाँडा आउनुभएको थियो, उहाँले गर्न सकिने कामहरू १५ दिनभित्रै पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो,’ ककनी गाउँपालिका ३ का अध्यक्ष घननाथ बजगाईले भने, ‘१५ दिनभित्र गर्न सकिने कामका सूची सहरी विकास मन्त्रालयमा छलफल गरेर टुंगो लगाउने कुरा भएको छ।’
स्थानीयहरूले बन्चरेडाँडा वरपर २५ सय मिटरको मध्यवर्ती क्षेत्र तय गर्नुपर्ने, फोहोरको वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेलगायत माग गर्दै आएका छन् । यसअघि गरिएका समझदारी कुनै पनि पूरा नभएको भन्दै स्थानीयले गत मंगलबारदेखि काठमाडौं उपत्यकासहित करिब २२ स्थानीय तहले फाल्दै आएको फोहोरमा अवरोध गरेका थिए ।
आज समझदारी बनेपछि बाटोमा रोकिएका करिब १५० ट्रक बन्चरेडाँडातर्फ अघि बढेका छन् । काठमाडौं र आसपासका स्थानीय तहबाट दिनहुँ करिब १२ सय टन फोहोर बन्चरेडाँडा लगिने गरेको छ ।
हाल बन्चरेडाँडामा फोहोर वर्गीकरण नगरी व्यवस्थापन गरिँदै आएको छ । यसले ल्याण्डफिल साइट भरिने अवस्थामा पुगेको र त्यहाँ रहेका लिचेड पोखरी भरिएको र कोल्पुखोलामा मिसिएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।


