
वीरगञ्ज नाकाबाट ३ महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर ३८ अर्ब ९ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट १६ अर्ब १२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा रु एक अर्ब छ करोड रकमले कमी आएको आएको छ ।
जबकी गत आवको ३ महिनाको अवधिमा भने ३९ अर्ब १५ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा १६ अर्ब ७ करोड राजस्व संकलन भएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा पेट्रोलियम पदार्थको आयातमा केही कमी आएको बताए ।
वीरगञ्ज भन्सार कार्यालयका चालु आवको असोज मसान्तसम्म १५ अर्ब ७२ करोड मूल्य पर्ने एक लाख ७४ हजार ९२४ किलोलिटर डिजेल आयात भएको छ । सो डिजेल आयातबाट ६ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
चालु आवको ३ महिनामा १० अर्ब ७२ करोड रुपैयाँ मूल्य पर्ने एक लाख २५ हजार ३८० किलोलिटर पेट्रोल आयात भएको छ । सो पेट्रोल आयात हुँदा ७ अर्ब ९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । चालु आवको तीन महिनाको अवधिमा रु सात अर्ब ४९ करोड मूल्य पर्ने ७ करोड ३९ लाख ७७ हजार दुई सय ७१ किलोग्राम एलपि ग्यास आयात भएको छ ।


