
ओली, लेखकसहित ५ जनाको पासपोर्ट रोक्का र स्थानहद लगाएको विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एंव तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनाको पासपोर्ट रोक्का र स्थानहद लगाइएको विषयमा सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
आज अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, जेनजी घटनासम्बन्धी बनेको गौरिबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र गृह मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।
जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृह मन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान आयोगका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौं जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालको पासपोर्ट रोक्का राख्नुका साथै उपत्यका छाड्न नपाउने गरी स्थानहद तोकेको थियो ।
अधिवक्ता सिलवालले स्थानहद तोक्नु गलत हो भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको जनाएका छन् ।


