


राताम्य पुँजी बजारः अर्बौ रकम गुम्दा त्रसित लगानीकर्ता




काठमाडौं । शेयर बजार लगातार ओरालो लागिरहेकाले लगानीकर्तामा निराशा बढ्दो छ । बजार घट्दै गएपछि धेरैको लगानी बालुवामा पानी झै गइरहेको अनुभूति भइरहेको छ । हालैको आर्थिक वर्षको भदौ महिनासम्म देशभरका बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब ४५ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका छन्। तर, बजार सूचक घट्दो क्रममा रहेकाले लगानीकर्तामा उत्साह बढाउन राष्ट्र बैंकको प्रयास अझै प्रभावकारी हुन सकेको छैन।
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सम्बन्धी सबै सीमा हटाइरहेको छ भने बैंक तथा वित्तीय संस्थाहरूले खरिद गरेको सेयर कम्तीमा एक वर्ष होल्ड गर्नुपर्ने व्यवस्था घटाएर ६ महिनामा झारेको छ। साथै वर्षभित्र २० प्रतिशत मात्र बिक्री गर्न सक्ने प्रावधान पनि हटाइएको छ। राष्ट्र बैंकको उद्देश्य पूँजी बजारमा नयाँ ऊर्जा थप्नु भए पनि, हालको अवस्थामा बजारले ती नीतिहरूलाई प्रत्यक्ष रूपमा स्वीकार गरेको देखिँदैन।
धितो कर्जाको वृद्धिदर यस वर्ष गत वर्षको तुलनामा कम देखिएको छ। ठूलो लगानी क्षमता भएका व्यक्तिहरूले बढी कर्जा लिन सकिरहेका छन् भने साना लगानीकर्ताले हिचकिचाइरहेका छन्। भदौ महिनामा शेयर बजारको कारोबार मापक सूचक ४.१६ प्रतिशतले घट्दा निराशा बढेको छ। राजनीतिक अस्थिरता र अदालतमा परेका रिटले पनि बजारको मनोबल कमजोर पारेको विश्लेषण गरिएको छ, जसले गर्दा नियामक निकायका सकारात्मक प्रयास र नीतिगत सुधारहरूको तत्काल प्रभाव देखिन कठिन भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.४० अकंले घटेर २४८७.१७ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको ७६ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूचक राताम्य भएका छन् । वाणिज्य बैंक समूहको ०.०२ प्रतिशत र म्युचुअल फण्डको ०.२१ प्रतिशतले शेयर मूल्य बढेको छ । आज विकास बैंक समूहको १.१५ प्रतिशत र फाइनान्स समूहको १.२८ प्रतिशतले घटेको हो ।
बिहिबार ४५ कम्पनीको शेयर मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ ।