


कांग्रेस सभापति देउवाले पूर्णबहादुर खड्कालाई दिए कार्यवाहक




काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका छन् ।
देउवा जेनजी आन्दोलन भएको भदौ २४ पछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखा परेका हुन् । ‘१५औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्छु भनेको छु, त्यसपछि विधानले पनि दिँदैन । पार्टी सञ्चालनका लागि अहिले कार्यवाहक पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्छु,’ देउवाको भनाइ थियो ।
देउवाले ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २३ र २४ गते भएका सबै घटनाको छानबिनको माग गरेका छन् । भदौ २४ गते प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएपश्चात् पहिलोपटक मंगलबार (असोज २८) सार्वजनिक भएका देउवाले यस्तो माग गरेका हुन् ।
देउवा कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी हुन ललितपुरको सानेपास्थित पार्टी कार्यालय पुगेका हुन् । बैठकमा देउवाले लिखित सम्बोधन गर्दै दुवै दिन भएका घटनाको छानबिनको माग गरेका छन् ।
प्रदर्शनकारीको आक्रमणमा परेकी तत्कालीन परराष्ट्रमन्त्री समेत रहेकी देउवापत्नी आरजु राणा पनि उनीसँगै सानेपा पुगेकी छन् ।