


सेयर बजार र कारोबार रकम दुवैमा गिरावट




काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार र कारोबार रकम दुवै घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार १९.४३ अंकले घटेर २५२८.१६ बिन्दुमा पुगेको छ । सातको पहिलो कारोबार दिन आइतबार पनि घटेको सेयर बजार सोमबार भने बढेको थियो।
सेयर बजारसँगै आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार घटेर ३ अर्ब ६३ करोड ६१ लाख ९८ हजार रुपैयाँ बराबरकोमात्र सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ३ उपसमूहको सेयर कारोबार बढेको छ। बाँकी १० उपसमूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । आज कारोबारमा आएको दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शुभम पावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लागेको हो । यसैगरी, आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी उच्च स्थानमा रहेको छ। यस कम्पनीको यस दिन ३२ करोड ७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसैगरी, यस दिन हिमालयन रि–इन्स्योरेन्सको १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।