


ब्रोकर एसाेसिएसनले भन्यो- ‘शेयर बजार सुधारको लहर सुरु, उच्च मनोबलका साथ संयमित भएर कारोबार गर्नु’




काठमाडौँ । स्टक ब्रोकर्स एसाेसिएसन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविष्य दिगो र उज्ज्वल रहेको बताउँदै लगानीकर्तालाई उच्च मनोबलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ । पछिल्ला दिनमा बजारमा देखिएको अनिश्चितता र लगानीकर्ताको मनोबल खस्किएको अवस्थाबारे चिन्ता व्यक्त गर्दै एसबानका अध्यक्ष सागर ढकालले अबका दिनमा बजार सुधारको बाटोमा अघि बढ्ने विश्वास दिलाएका छन् ।
उनका अनुसार हाल नेप्से परिसूचक न्यूनतम विन्दुमा झरे पनि सरकार र सरोकारवाला निकायहरूले पुँजी बजार सुधारका लागि ठोस कदम चालिरहेका छन् । ‘नयाँ सरकार गठनसँगै पुँजी बजार सुधार सुझाव समिति बनेको छ, जसले आवश्यक सिफारिसहरू दिएको र तीमध्ये धेरै बुँदाहरू तत्काल कार्यान्वयनमा गइसकेका छन्,’ ढकालले भने, ‘नेपाल राष्ट्र बैंकले आवश्यक मौद्रिक नीति र निर्देशिका मार्फत सहजीकरण गरेको छ भने नेपाल धितोपत्र बोर्डले पनि सुधारका काम अघि बढाइसकेको छ ।’
उनका अनुसार ब्रोकर एसाेसिएसनले पनि दीर्घकालीन सुधारका एजेन्डा अघि सार्दै सरोकारवाला निकायहरूलाई निरन्तर सुझाव र दबाब दिइरहेको छ । ढकालले भने, ‘आन्दोलनले सरकारी सम्पत्ति, निजी क्षेत्र र व्यवसायमा केही क्षति पुर्याए पनि समग्र देशको अर्थतन्त्रका सूचकांकहरू क्रमशः सुधारतर्फ उन्मुख छन् । बैंक ब्याजदर घट्दै गइरहेको छ, वैदेशिक मुद्राको भण्डार स्थिर छ, मुद्रास्फीति नियन्त्रणमा छ र वित्तीय तरलता पनि सुदृढ बन्दै गएको छ । यी सबै सूचकले पुँजी बजारमा सुधार आउनुको विकल्प नरहेको संकेत दिन्छन् ।’
उनले हालसालै असोज २३ र २४ गते युवा समूह (जेन–जी) का लगानीकर्ताद्वारा गरिएको आन्दोलन र त्यसपश्चात् देखिएको राजनीतिक अस्थिरताले बजारमा केही असहजता सिर्जना गरे पनि अब स्थिति स्थिर हुँदै गएको बताए । ढकालका अनुसार अन्तरिम सरकारले समग्र शान्ति–सुरक्षाको व्यवस्थापन गर्दै अर्थतन्त्रलाई स्थायित्व र दिगो विकासतर्फ अघि बढाउने नीति लिएको छ ।