


काठमाडौं उपत्यकामा खोला करिडोरमा गाडी चलाउन रोक




काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भइरहेको निरन्तर वर्षाका कारण सडक अवरुद्ध हुने र नदीको कटानले जोखिम बढ्ने अवस्था देखिएपछि सरकारले नदी खोला किनारका सडकमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार जारी गरेको विज्ञप्तिमा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमनमा अस्थायी रोक लगाइएको जनाएको छ ।
प्राधिकरणका अनुसार लगातारको वर्षाले नदीको बहाव तीव्र भई कटान र सडक भासिने सम्भावना बढेकाले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो।
यात्रीहरूलाई आवश्यक नपरेसम्म उक्त क्षेत्रमा यात्रा नगर्न र स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।