


एमसीसीको सहयोगमा चलेका आयोजना समयमा सम्पन्न हुनुपर्नेमा अमेरिकी राजदूत




काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजदुत डीन आर थोम्पसनले एमसीसीको सहयोगमा संचालित एमसीए नेपालबाट कार्यान्वयन भइरहेका परियोजनाहरु समयमै सम्पन्न गर्ने कार्यमा सरकारको थप प्रतिवद्धता आवश्यक रहेको बताएका छन् ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र राजदुत डीन आर थोम्पसनबीच आज अर्थमन्त्रालयमा भएको भेटमा यस्तो प्रतिवद्धता आवश्यक रहेको बताए । भेटमा अर्थमन्त्री खनालले उक्त परियोजनाहरुको सफल कार्यान्वयनका लागि सरकारको तर्फबाट गर्नुपर्ने कार्यहरूमा ढिलाई नहुने विश्वास दिलाए ।
भेटमा नेपालको हालको परिवर्तित अवस्था र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भयो ।
मन्त्रीखनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमबाट निजी क्षेत्रको मनोबल माथि उठाउनु रहेको बताए ।
अमेरिकी राजदुतले हालैको घटनामा ज्यान गुमाउने परिवार प्रति समवेदना तथा सहानुभुति व्यक्त गर्दै यस परिस्थितिमा अमेरिकी सरकार नेपालको साथमा रहेको उल्लेख गरे ।
अर्थमन्त्री खनालले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सरकारको तर्फबाट हुँदै आइरहेको निरन्तर सहयोगको उच्च सराहना गरे । भविष्यमा समेत यस प्रकारको सहयोग प्राप्त भइरहने आशा समेत व्यक्त गरे ।