
सागर डिष्टिलरीको आईपीओको बिक्री खुला गरियो

काठमाडौं ।आज भदौ ३० गतेदेखि सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ बिक्री खुला भएको छ। त्यस्तै, यसअघि भदौ २५ गतेदेखि आईपीओ बिक्री खुलाउने भनिएकामा जेन–जी आन्दोलनका कारण स्थगन भएको जनाइएको हो।
सोही कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले बताएको छ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपियाँबराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने ४३ हजार ५ सय ६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।
त्यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बाँकी ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता माग गर्दै असोज २ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असोज १३ गतेसम्म लम्बिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


