

पर्सामा नेपाल टेलिकमको ३ करोड हाराहारीमा नोक्सानी




वीरगञ्ज । गत हप्ताको आन्दोलनबाट वीरगञ्जको घण्टाघरस्थित नेपाल टेलिकम वीरगञ्जको कार्यालयमा तोडफोड र आगजनीबाट तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
यही भदौ २४ गतेको आन्दोलनको भीडकोे सबैभन्दा पहिलो निशानामा टेलिकम परेको थियो । नेपाल टेलिकम वीरगञ्जका प्रमुख पङ्कज साहले अराजक समूहको भीडले टेलिमकको कम्प्युटर, प्रिन्टर्सलगायतका अन्य महत्वपूर्ण उपकरणमा करिब तीन करोड मूल्य बराबरको सामानको क्षति भएको जानकारी दिए ।
‘‘प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकमका कार्यालयमा आगजनी गरेका छन्,’ उनले भने, ‘‘आगजनीबाट महसुल काउन्टरमा धेरै क्षति भएको छ ।’ पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्नका लागि निर्देशन दिएको छ ।
‘‘जेनजी समूहको आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपूरणीय क्षति भएका छन्,’ उनले भने, ‘‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा विवरण तयार पर्दा पारदर्शीता र यथार्थपरक बनाउनको लागि निर्देश गरेको छु । मुचुल्का तयार पर्दा श्रव्यदृश्य र अन्य व्यवस्थित खालको तयार पार्न आग्रह गरेको छु ।’ यहाँको वीरगञ्ज महानगर, आन्तरिक राजस्व कार्यालय लगायतमा धेरै क्षति भएको छ ।