
अहिलेसम्म जेनजी आन्दोलनमा परी ७२ जनाले गुमाए ज्यान

काठमाडौं । जेनजी आन्दोलनमा परी हालसम्म ७२ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्य सचिव एकनारायण अर्यालले हालसम्म कुल ७२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
प्रहरी प्रशासनको तथ्यांक अनुसार गत सोमबार र मंगलबारको आन्दोलनबाट ५१ जनाको मृत्यु भएको थियो । आगलागीका कारण मृत्यु भएका थप शव भेटिँदै गएका छन् । चाबहिल चुच्चेपाटीमा रहेको भाटभटेनीमा आज बिहान मात्रै ६ शव फेला परेका छन् । शव पूरै डढेकाले उनीहरुको पनि सनाखत हुन सकेको छैन ।
नेपाली प्रहरी, जेनजी आन्दोलनका आन्दोलनकारी तथा विभिन्न जलेका घर, व्यवसायीक भवन तथा भाटभटेनी लगायतका स्थानहरुमा कुल ७२ जना मृत्यु भएको प्रधानमन्त्री कार्कीलाई जानकारी गराइएको छ ।
जेनजी आन्दोलनमा घाइते भएका आन्दोलनकारीलाई तथा क्षतिग्रस्त प्रहरी कार्यालयमा शनीबार प्रधानमन्त्री कार्कीले अनुगमन गरेकी छिन् ।


