

प्रदर्शनले लगानी र रोजगारीमा चुनौति थपिएको नाडाको दाबी




काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर र्पुयाएको जानकारी दिएको छ । नाडाले आइतबार एक विज्ञप्ती जारी गर्दै देशको बर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर र्पुयाएको र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको जानकारी दिएको हो ।
नाडाले नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएको र हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका बताएको छ । हालको घटनाले कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको छ ।
यसैगरी, हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको नाडाले जनाएको छ । ‘नाडाले यस घटनाबाट प्रभावित सम्पूर्ण परिवारसँग गहिरो समवेदना प्रकट गर्दै । जीवन गुमाउनु पर्ने पीडादायी घटनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं । साथै, घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको लागि समेत हार्दिक प्रार्थना गर्दछौ।’ नाडाले भनेको छ ।
यसैगरी, शान्तिपूर्ण सम्वाद र सहमतिको बाटोबाट हरेक जटिल र कठीन समस्याहरुको समाधान खोज्न सकिने नाडाको विश्वास रहेको छ । नाडाले सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गरेको छ । अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान पनि गरेको छ ।
नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता व्यक्त गरेको छ । एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक सम्वादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्नेछ भन्ने विश्वास नाडाको रहेको छ ।