
देशका लागि भत्किएका संरचना पुनः सञ्चालनका लागि ‘घर निर्माण फाउण्डेशन’को पहल

काठमाण्डौ । हालैको Gen Z आन्दोलनका क्रममा देशभरका विभिन्न सरकारी भवनहरूमा भएको क्षति अहिले राष्ट्रकै चिन्ताको विषय बनेको छ। आन्दोलनको क्रममा अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालय लगायतका अत्यावश्यक सेवामा प्रयोग हुने भवनहरू भौतिक क्षति भएपछि जनताको दैनिक जीवन प्रभावित भएको छ। यस्ता संरचनाहरू पुनः सञ्चालनमा ल्याउन ढिला भए देशकै सेवा अवरुद्ध हुने अवस्था सिर्जना भएको छ।
यस्तो कठिन घडीमा घर निर्माण फाउण्डेशनले राष्ट्रका लागि हात अघि बढाउने घोषणा गरेको छ। फाउण्डेशनले Skill Sewa Pvt. Ltd. सँग सहकार्यमा देशभरका क्षतिग्रस्त भवनहरूको मर्मत तथा पुनर्निर्माण गर्ने विशेष अभियान सुरु गर्ने तयारी गरेको छ। “देशको लागि भत्किएका संरचना पुनः सञ्चालनका लागि हामी गर्छौं,” फाउण्डेशनले सार्वजनिक अपिल गर्दै जनाएका छन्।
फाउण्डेशनका निर्देशक महेश तिमिल्सिना, सताक्षी मिश्र र प्रशान्त प्रधानको नेतृत्वमा अघि बढ्न लागेको यो परियोजना केवल मर्मतको काम मात्र होइन, राष्ट्र पुनःनिर्माणको अभियान हो। उनीहरूका अनुसार अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालय, एनजिव जस्ता सार्वजनिक सेवामा अत्यावश्यक भवनहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्पूर्ण सीप र जनशक्ति प्रयोग गरिनेछ।
निर्देशकहरूले संयुक्त रूपमा बताएका छन्, “हामीसँग यस किसिमको कामका लागि आवश्यक सम्पूर्ण दक्ष जनशक्ति उपलब्ध छ। विद्युतीय मर्मत, प्लम्बिङ, सुरक्षा प्रणाली, ढोका–झ्याल, फर्निचरदेखि लिएर सम्पूर्ण संरचनागत नवीकरणसम्मका काममा हामी सक्षम छौं। हाम्रो उद्देश्य देशलाई सेवा गर्न हाम्रो अनुभव र जनशक्ति प्रयोग गर्नु हो।”
फाउण्डेशनले हालै क्षतिग्रस्त भएका भवनहरूका सम्बन्धित निकायलाई आफ्नो सहयोगका लागि सम्पर्क गर्न आग्रह गरेको छ। “हामीलाई तपाईंहरूको आवश्यकता बताउनुहोस्, हाम्रो टोली निःसंकोच मर्मत तथा मूल्यांकन गर्न तयार छ,” फाउण्डेशनको अपिल छ।
फाउण्डेशनका निर्देशकहरूले भावुक हुँदै भनेका छन्, “यी भवनहरू केवल इटा र सिमेन्टका संरचना मात्र होइनन्, यी त देशको सेवा, जनताको आशा र विश्वासका प्रतीक हुन्। यिनको पुनःनिर्माण हाम्रो कर्तव्य हो।”
यो अभियान मार्फत छिटो मूल्यांकन, मर्मत तथा नवीकरणको काम अगाडि बढाइने र जनताको स्वास्थ्य, सुरक्षा तथा प्रशासनिक सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्य राखिएको छ। “देशलाई चाहिन्छ छिटो समाधान, हामीसँग छ अनुभव र जनशक्ति—अब समय हो, राष्ट्रका लागि काम गर्ने,” फाउण्डेशनले थप जोड दिएको छ।
यो पहलले आन्दोलनले क्षति पुर्याएका संरचनाहरूलाई पुनः जीवन दिई जनताका सेवाहरू फेरि सहज बनाउने विश्वास लिइएको छ। घर निर्माण फाउण्डेशनले यो अभियानलाई राष्ट्रप्रति समर्पित सेवा भन्दै देशका सबै जिम्मेवार निकायलाई हातेमालो गर्न आह्वान गरेको छ।


