
निर्वाध व्यवसाय गर्ने वातावरण बनाउन उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनको नाममा व्यक्तिगत एवं व्यवसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको भत्र्सना गरेको छ ।
महासंघले व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सरोकारवाला पक्षकोे ध्यानाकर्षण गराएको छ । उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौ रुपैयाँ बराबरको क्षति भएको र यसबारे महासंघले थप विवरण संकलन गरिरहेको जनाएको छ ।
यस्तो क्षतिका कारण राजस्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन रहेको जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् ।
देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवं सहकार्य गर्न तयार रहेको जनाएको छ । ‘नवनिर्माण एवं पुर्ननिर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्वाध संचालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि महासंघ आग्रह गर्दछ’ जारी विज्ञप्तिमा भनिएको छ ‘महासंघको सबै जिल्ला र एक सय भन्दा बढि पालिकाहरुमा सदस्य उद्योग वाणिज्य संघहरु उपस्थिति रहेको छ । जिल्ला, नगर, वस्तुगत, एसोसिएट लगायतका सदस्यता महासंघले देशभरका करिब ६ लाख साना मझौला एवं ठूला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दछ ।’
निजी क्षेत्रका गतिविधि निर्वाध रुपमा संचालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्न जानेछ । आम सर्वसाधारण तथा उद्यमी व्यवसायले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन हुन आग्रह गरेको छ ।
महासंघले निषेधाज्ञा एवं करफ्यूका सामयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरुको आवतजावत एवं वस्तुहरु जस्तै औषधि, खाद्यान्न, दुध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसार पसार सहजीकरणका लागि पनि आग्रह गरेको छ । यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहने सुरक्षा समितिमा महासंघ एवं महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिताका महासंघ आग्रह गरेको छ ।
गुणस्तरीय सामानको नियमित आपूर्ति गरि बजारमा अभाव सिर्जना हुन नदिने तर्फ देशैभरका सबै उद्यमी व्यवसायीहरुमा आग्रह पनि गर्दछ । साथै यसको सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवं वस्तुगत संघहरुले अनुगमन गर्न पनि आग्रह गरेको छ ।
‘अन्तराष्टिय विमानस्थल सुचारु भएपनि धेरै भन्सार नाका अहिले बन्द रहेका छन । अत्यावश्यकीय लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिइ सुचारु गर्ने वतावरण निर्माणका लागि पनि महासंघ आग्रह गर्दछ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका बिषय समावेश हुँदा अर्थतन्त्र चलायमान भइ समुन्नति र स्थायित्व कायम हुने विश्वास हामीले लिएका छौ ।’
महासंघले शुसासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले चासो देखाएको छ । यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भै युवा पुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढने अपेक्षा महासंघले गरेको जनाएको छ ।


