
सिटी होटलको ८० प्रतिशत हकप्रदमा आजदेखि आवेदन खुल्यो

काठमाडौं । आजदेखि सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद खुलाएको हो ।
कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ता रेसियोमा हकप्रद खुलाएको हो । उक्त कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १ करोड ३३ लाख ९२ हजार कित्ता निष्कासन गरेको हो ।
हकप्रद सेयर निष्काशन प्रयोजनका लागि सो कम्पनीले साउन २७ गते बुकक्लोज गरिएको थियो। हकप्रदमा लगानीका लागि लगानीकर्ताले साउन २६ गतेसम्म नेप्सेमा कारोबार गरेर कायम भएको हुनुपर्नेछ । हकप्रदमा असोज १२ गतेसम्म आवेदन दिन पाइनेछ।
इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्। साथै सेबोनबाट अनुमति लिएका सि आस्बा रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछि चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्ने भएको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।


