

घातक रोगको बीमा गरे पनि ९० दिनसम्म पाइदैन रकम,जान्नुस् यस्तो छ कारण




काठमाडौं । बीमा किन गर्ने ? यसको उत्तर सरल र सटिक छ, दाबी–भुक्तानी पाउँन । अब समयमा दाबी-भुक्तानी पाइएन भने बीमा गर्नुको के अर्थ ? तर, बीमाले दाबी–भुक्तानी दिन पनि केही निश्चित प्रक्रियाहरु पार गर्नु पर्ने हुन्छ । त्यसरी कम्पनीहरुले तोक्ने शर्त निश्चित हुने भएकाले हामी जो कोहीले बीमा गरेपछि मात्र होइन बीमा गर्नु अघि पनि बीमाका सम्झौताका बारेमा गहिरो अध्ययन गर्न जरुरी छ ।
सबैभन्दा पहिला एउटा साधारण उदाहरण लिऔं । मानौ हामीले शेयरमा लगानी गर्दैछौं । अब त्यस्तो अवस्थामा जो केहीले पनि कुन कम्पनीमा लगानी गर्न लागेको हो त्यस्तो कम्पनीको बारेमा अध्ययन गर्छौ । त्यस्ता कम्पनीले पछिल्लो पाँच वर्षमा गरेको आम्दानी, खर्च, नाफा, घाटा, यसको शेयर भ्यालु लगायत अनेकौं कुराहरु हेर्छौ । त्यस्तै, कुनै बैंकबाट ऋण लिन लाग्नु भएको छ भने पनि तपाई हामीले त्यस्ता विभिन्न बैंकमा रहेको ऋणका स्किम,योजनादेखि कुनै बैंकमा कारोबार गर्ने बेलामा पनि बचत बापत आउँने व्याज आदी हेर्छौ । तर, हामीले बीमा गर्ने बेलामा केही पनि हेर्दैनौ, अन्नाधुन्न बीमा गर्छौ । या भनौ, अभिकर्ताले सबै गर्दिएकै छ नि भनेर आँखा चिम्लेर विश्वास गर्ने बानी बसाएका छौं । यदी अझै पनि त्यस्तै बानी हामीले अपनाएका छौं भने अबदेखि बीमा गर्दा केही कुरामा निकै चलाखी गर्न जरुरी छ । जसले एउटै कुरा गर्छ, तपाई र बीमा कम्पनी बिचको बुझाईमा स्पष्टता ल्याउँछ ।
कम्तीमा बीमालेख पढौं
अघि उदाहरणमा भने जस्तै हामीले बैंक र शेयरमा लगानी गरेको जस्तै बीमामा पनि सानोदेखि मोटो रकम लगानी हुने गर्छ । बीमा पनि वित्तीय क्षेत्रको एउटा पाटो हो । सोही कारण तपाईले कुनै पनि कर तिर्न जाँदा जसरी कर कार्यालयमा तिर्नु पर्ने रकमको पूर्ण जानकारी राख्नु हुन्छ अब कुनै पनि बीमा गर्नु पूर्व आफूले गर्ने बीमाको बारेमा जानकारी राख्न जरुरी छ । केही बीमा यस्ता पनि छन् जहाँ बीमा गरेको ९० दिनसम्म घटना घटेमा कुनै पनि रकम पाइदैन । यो कुरा बीमा कम्पनीले तपाईलाई घटना घटेपछि मात्रै भन्ने होइन बीमा गर्ने बेलामा हामीले यस्तो नियमको बारेमा चलाखी पूर्वक ख्याल गर्न जरुरी छ । तर, अघिकांश अवस्थामा आफूलाई घटना भएपछि र बीमाले पैसा नदिएको अवस्थामा मात्र बीमितले थाहाँ पाउँने गरेको पाइन्छ, अनि अधिकांश दंग पर्नु हुन्छ यही थाँहा पाउँदा घातक रोगको बीमाशुल्क बुझाए पनि ९० दिनसम्म कुनै शुल्क पाइदैन । कम्पनी अनुसार उनीहरुले घातक रोगलाई समेत परिभाषित गरेका छन् ।
किन पाइदैन बीमा गरे पनि तीन महिनासम्मको पैसा ?
घातक रोगको बीमांक रकम निकै मोटो हुने गरेको छ । त्यस्तो घातक रोगको बीमा गर्दा कसैलई कथमकदाचित ठूलो रोगदेखि परेमा पूरा पैसा पाउँने बीमाको शर्त हुन्छ । उनीहरुले प्राण घातक रोगमा आफ्नो जीवन नै बचाउँने पैसा बीमाबाट पाउँछन् । तर, पनि यस्तो रोग एकै पटक वा भनौ छोटो अवधिमा नलाग्ने आँकलनका साथ कुनै पनि पुराना बिरामीले झुक्याएर बीमा नगरुन भन्नका लागि पनि यस्तो कडाई गरिने गरेको छ । बीमाको भाषामा त्यस्ता कडाई या भनौ ट्रायल पिरीयड (जोखिमांक) जोखिमको आँकलन र अण्डरराईटिंगसँग पनि सम्बन्धित छ ।
मानौ कसैले आज घातक रोगको बीमा गरेको छ तर उसले पाँचदिन पछि नै निकै ठूलो घटना भएको रिपोर्ट ल्याएमा त्यसलाई केही हदसम्म बीमा कम्पनीहरुले शंकास्पद वा पूर्व नियोजित तरिकाले बीमा गरिएको मान्ने गरेका छन् । अर्को कुरा भनेको बीमा गराउँनु पूर्व ठूलो रोग नलागी तुरुन्तै घातक रोगको रिपोर्ट बन्ने सम्भावना पनि निकै कम छ । अधिकांश घातक रोगको डाईलाईसीस, एमराई लगायत केही महिनाको फलोअप पछि मात्रै पत्ता लाग्ने गर्छ ।
त्यसरी नै हामीले वास्तविकता खोतल्दै जाने हो भने यति जान्नु होस् बीमा कम्पनीहरु पनि तपाईको लागि भनेर घाटाको व्यवसाय गर्दैनन् । यो नेपालमा मात्र होइन विश्वका कुनै पनि कम्पनीले आफू डुब्छु र अरुलाई बचाउछु भन्ने अवधारणा राख्छन् भने त्यस्तो हुँदैन, अपवाद मात्र होला । अब यति स्पष्ट हुन जरुरी छ कि हामीले बीमा गरेर धेरै जनालाई रोग लाग्दा उनीहरुले पनि पूर्व, ऐन नियम जे छ त्यसमा नै टेकेर दाबी भुक्तानी दिने हो ।
छिटो बीमा गरुन भन्ने कम्पनीको अपेक्षा
बीमा कम्पनीले पनि आफ्ना व्यावसायीक धर्म ननिभाउँलान भन्न पक्कै सकिन्न । उनीहरुले धेरै जनाले बीमा गरुन् भन्ने अपेक्षा त पक्कै राख्छन् नै अर्को कुरा भनेको तपाई हामीले पर्सिको साटो भोली भोलीको साटो आजै बीमा गरौं भन्ने उनीहरुको अपेक्षा हुने गर्छ । सोही कारण पनि घातक रोग पहिचानमा लाग्ने अवधि, घातक रोगको बीमा गरी नागरिकले पाउँने मोटो रकमको सुरक्षा छिट्टै बीमा सुरु गरी पाउँन भन्ने आशयदेखि बीमा चलिआएको ऐन नियमले नै घातक रोग लागेको तीन महिनासम्म (९०) सम्मको दाबी भुक्तानी आफ्नै बीमितलाई दिदैनन् ।
भारतमा घातक रोग लागे पनि बीमा हुने
ठीक यही बेलामा छिमेकी राष्ट्र भारतमा भने दीर्घ रोग लागेका बिरामीहरुले समेत अन्य निरोगीहरुको तुलनामा बढी बीमाशुल्क बुझाएर बीमा गर्दै आएका छन् । पछिल्लो समय त्यस्ता बीमा गराउँनेहरुको संख्या पनि वृद्धि हुँदै गएको एक भारतिय बीमा कम्पनीमा आवद्ध सीईओले सुनाएका छन् ।