

महिला क्रिकेट खेलाडीलाई जनही रु दुई लाख ५० हजार पुरस्कार प्रदान




काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक यु–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही २ लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । टिममा समावेश अफिसियलहरूलाई भने जनही १ लाख ५० हजार पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो ।
संयुक्त अरब इमिरेट्स (युएई)को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली युएईमाथि ८ विकेटको जीत निकाल्दै नेपालले पहिलो पटक यु–१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । नेपालले ६ खेलबाट १० अंक जोड्दै विश्वकपमा स्थान बनाएको हो । त्यस्तै युएईले पनि समान खेलबाट समान १० अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो । यु–१९ विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।
विश्वकपका साथै नेपाल यु–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसिसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यु–१९ महिला एसिया कपका लागि पनि नेपाल छनोट भएको हो । यु–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन् ।