

बजारमा रौनक: नेप्से सूचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा




काठमाडौं । साताको चौथौ कारोबार दिन बुधबार सेयर बजारमा रौनकता छाएको छ । बुधबार सेयर बजार मापक नेप्से सूचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेको छ ।
आज सेन्सेटिभ इण्डेक्स ८.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०६ अंक बढेको छ। आज सेयर बजारसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब १८ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
बुधबार कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.४० प्रतिशत बढेको छ। यसैगरी, आज लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । आज बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
बुधबार विकास हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज यस कम्पनीको सेयरमूल्य ४७ रुपैयाँ बढेर ५१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। यसैगरी, आज समता लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ । यता ग्रीन भेन्चर्सको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स उच्च स्थानमा रहेको छ। यस कम्पनीको यस दिन ६५ करोड ४२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज नेपाल पुनर्बीमा कम्पनीको साढे ५५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।