

४५ अर्ब खिच्दै राष्ट्र बैंक




काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि ४५ अर्ब रुपैयाँ खिच्ने भएको छ ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ खिच्न लागेको हो । २५ दिने निक्षेप संकलन उपकरणको असोज ५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुनेछ । राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने छ ।
उक्त निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुने छ । साथै, बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।