

‘काठमाडौं कलिङ्गा साहित्य महोत्सव’ मा गुञ्जिँदै चर्चित गायक अर्को मुखर्जी




काठमाडौँ। आगामी भदौ २८ र २९ गते (सेप्टेम्बर १३ र १४) ‘काठमाडौं कलिङ्गा साहित्य महोत्सव’को चौथो संस्करण हुँदैछ। ललितपुरको होटल हिमालयमा दुई दिनसम्म चल्ने महोत्सवमा देशविदेशका साहित्यिक व्यक्तिहरू सहभागी हुँदैछन्।
यसपटकको महोत्सवमा चर्चित गायक तथा संगीतकार अर्को मुखर्जी मुख्य आकर्षणको रूपमा रहेका छन्। महोत्सवको पहिलो दिन चर्चित बंगाली गायक मुखर्जी गुञ्जिनेछन्। २८ गते साँझ ७ बजेदेखि उनको प्रस्तुति हुनेछ।
बंगाली चलचित्रहरुमा स्वर दिएर चर्चामा रहेका गायक मुखर्जीको नेपाली संगीतप्रति विशेष लगाव छ। उनले हिट नेपाली गीतहरूलाई कभर भर्जनमा ल्याएर नेपाली दर्शकहरूको मन जितिसकेका छन्। लोक संगीतमा झुकाव राख्ने उनले उकालीमा हजुर, भैँसी लड्यो, लाहुरेको रेलिमै, मोहनी लाग्ला है, सिन्धुली गढी, ए कान्छालगायत थुप्रै नेपाली हिट गीतलाई कभर भर्जनमा सार्वजनिक गरेका छन्।
यस पटकको महोत्सवमा ‘अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२५’का विजेता भारतीय लेखिका बानु मुस्ताक पनि सहभागी हुनेछिन्। उनीसँगै अनुवादक दीपा भास्टी, इतिहासकार डा विक्रम संपत, लेखक तथा कूटनीतिज्ञ विकास स्वरूपलगायत दक्षिण एशियाली र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखकहरू महोत्सवमा सहभागी हुनेछन्।
यस पटकको संस्करणको मूल विषय ‘सीमापारि ः बदलिँदो विश्वमा दक्षिण एशियाली साहित्य’ रहेको छ। महोत्सवमा भारत, नेपाल, भूटान, बंगलादेश र श्रीलङ्कासहित करिब ३०० लेखक सहभागी हुने नेपालस्थित आयोजकले बताएको छ।
महोत्सवमा प्यानल छलफल, कविता वाचन, पुस्तक लोकार्पण, लेखकसँग अन्तरक्रिया, लेखन तथा अनुवाद कार्यशाला र सांस्कृतिक प्रस्तुति हुनेछन्। कार्यक्रमले नेपाल–भारत तथा दक्षिण एशियाली मुलुकबीचको साहित्यिक र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने आयोजकको विश्वास छ।