

१५ प्रतिशत बढी खराब कर्जा हुने लघुवित्तले लाभांश बाँड्न नपाउने




काठमाडौं । नेपालले राष्ट्र बैंकले लघुवित्तको लाभांश नीतिमा परिमार्जन गरेको छ । राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी खराब कर्जा हुने लघुवित्तले लाभांश बाँड्न नपाउने व्यवस्था गरेको हो ।
यसैगरी, राष्ट्र बैंकले लघुवित्त संस्थाले पुँजीकोष अनुपात र निष्क्रिय कर्जा अनुपातका आधारमा २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने व्यवस्था पनि गरेको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई लाभांश वितरणमा १५ प्रतिशतको क्याप लगाएको थियो । आइतबार एक परिपत्रमार्फत् उक्त व्यवस्थामा परिमार्जन गरेको हो ।
यसैगरी, निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएको र पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि भएको लघुवित्त संस्थाहरुले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । पुँजीकोष १२ प्रतिशतभन्दा माथि भए पनि निष्क्रिय कर्जा ५ देखि १० प्रतिशतसम्म भएमा २० प्रतिशत लाभांश दिने पाउने व्यवस्था गरिएको छ। यसैगरी, निष्क्रिय कर्जा १० प्रतिशतभन्दा माथि १५ प्रतिशतसम्म भएर पनि पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि भएमा १५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने छन् ।
पुँजीकोष अनुपात १० देखि १२ प्रतिशतसम्म भएका लघुवित्तले निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम हुँदा २० प्रतिशत लाभांश बाँड्न पाउने भएका छन् । निष्क्रिय कर्जा ५ देखि १० प्रतिशतसम्म हुनेले १५ प्रतिशत र निष्क्रिय कर्जा १० देखि १५ प्रतिशतभन्दा माथि हुनेले १० प्रतिशत लाभांश बाँड्न पाउनेछन् ।
पुँजीकोष अनुपात ८ देखि १० प्रतिशतसम्म हुने लघुवित्रले भने निष्केय कर्जाको आधारमा ५ देखि १५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने राष्ट्र बैंकले जनाएको छ । निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएमा १५ प्रतिशत, ५ देखि १० प्रतिशतसम्म भएमा १० प्रतिशत र १० देखि १५ प्रतिशतसम्म भएमा १५ प्रतिशत लाभांश बाँड्न पाउने निर्देशनमा उल्लेख छ ।
लघुवित्तले निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा माथि भएमा लाभांश वितरण गर्न नपाउने भएका छन् । यस्तै ९ प्रतिशत न्युनतम पुँजीकोष कायम हुनेगरी मात्रै नगद लाभांश दिनसक्ने निर्देशनमा उल्लेख छ । हाल एनआइसी एशिया र नेस्डो समृद्धि लघुवित्तको निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा माथि छ ।