

नाडा अटो शो २०२५ आज सम्पन्न हुँदै




काठमाडौँ। पाँच दिनदेखि निरन्तर रूपमा भव्यता र आकर्षणका साथ चलिरहेको नाडा अटो शो २०२५ आज समापन हुँदैछ । यसपटकको अटो शोले नेपाली अटोमोबाइल बजार र प्रविधि क्षेत्रलाई ऐतिहासिक उपलब्धिमा पुर्याएको छ ।
भदौ ७ गतेसम्म मात्र १ लाख ४९ हजार ८८१ दर्शकले प्रदर्शनी स्थलमा उपस्थित भई अवलोकन गरिसकेका छन् । यस्तो तथ्याङ्कले नेपाली जनसमुदाय नवीनतम प्रविधि, विद्युतीय सवारीसाधन र भविष्यका मोबिलिटी समाधानप्रति गहिरो चासो राखेको स्पष्ट देखाएको छ ।
समापनको पूर्वसन्ध्यामा पनि नाडा अटो शोले उच्चस्तरीय सहभागिता पाएको छ । आज नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डिङ्ग्सका अध्यक्ष अरुणकुमार चौधरी तथा चर्चित कलाकार सन्दिप क्षेत्रीले प्रदर्शनी अवलोकन गरेका छन् ।
नाडाले प्रदर्शनीको हरेक दिन विविध विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ । आज पनि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यमा ‘सडक र यातायात’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ भने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको प्रमुख आतिथ्यमा ‘मेड इन नेपाल’ विषयमा छलफल भएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षले अटो शोका उपलब्धिहरुलाई ऐतिहासिक शुभारम्भको रूपमा लिँदै भनेका छन्, ‘यसले हाम्रो अपेक्षा अझ बढाएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन तथा भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन थप आत्मविश्वास दिएको छ ।’