

कोशी राजमार्गको हुङ्गुङ खण्डमा ठूलो पहिरो




सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण विगत तीन दिनदेखि सडक अवरुद्ध भएको छ । खाँदबारीदेखि किमाथाङ्का नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिराका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो ।
उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरैसहित ढुङ्गा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ । ‘सडक निर्माणाधीन भएकाले मेसिन प्रयोग गर्नसक्ने अवस्था छैन । भिरालो भू–भाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण भएको छ’, उनले बताए ।
सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्रीलगायत वस्तुको ढुवानी प्रभावित भएको छ । तीन दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रुसमेत समस्यामा परेका छन् ।
गुरुङका अनुसार वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यसपटकको पहिरो असाध्यै ठूलो भएकाले सडक कहिले खुल्ने भन्ने टुङ्गो लाग्न सकेको छैन । हाल पहिरो पन्छाउने प्रयास जारी राखेको भए पनि तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना देखिएको छैन ।