

कबाडी हटाउने कार्य तत्काल रोक्न अन्तरिम आदेश




काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–५ लाई वडाभित्र रहेको कबाडी हटाउने कार्य तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । रञ्जु देवीले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
निवेदकले काठमाडौँ महानगरपालिका वडा नम्बर ५ ले गत असार २३ गते ७ दिनभित्र कबाडी हटाउन पत्र पठाएको उल्लेख गर्दै त्यसलाई रोक्न माग गरेकी थिइन् ।
‘यसमा, के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीको हकमा आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नुहोला भनी आदेश र निवेदनको प्रतिलिपि समेत साथै राखी विपक्षीका नाममा म्याद सूचना जारी गरी रितपूर्वक तामेल गराई लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला’, आदेशमा भनिएको छ ।