

सिटिजन्स बैंकले बागमतीका वरिष्ठ कर्मचारीहरुसँग गर्यो कार्य प्रगति समीक्षा




काठमाडौं । सिटिजन्स बैंकले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “ईम्पावरिङ्ग लिडरसिप् इन् बागमती: अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्शिलेन्स” कार्यक्रम आयोजना गरेको छ ।
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल , उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थिति थियो । सेमिनारमा गत आर्थिक बर्षको कार्य प्रगति समीक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे थियो । हालै मधेश प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो, त्यसैको निरन्तरता स्वरूप बागमती प्रदेशमा त्यसै किसिमको सेमिनार गरिएको हो ।
बागमती केन्द्रित भएको यो कार्यक्रम जस्तै अन्य प्रदेशमा पनि प्रदेश स्तरमा कार्यक्रम गरिने योजना बैंकको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।
समीक्षा अवधिभरमा बैंककोे कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०–८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपियाँ थियो । निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपियाँको निक्षेप संकलन पुर्याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपियाँ बढी हो ।
खुद व्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपियाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको छ ।
देशैभरी ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट १९ लाख २९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।