

पोखरामा बीवाईडीको नयाँ शोरूम सञ्चालनमा




काठमाडौँ । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाउँदै पोखरामा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा कम्पनीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ सार्वजनिक गरिएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मुख्य अतिथिको रूपमा उपस्थित रहेको उद्घाटन समारोहमा अटोमोबाइल क्षेत्रका सरोकारवाला, सञ्चारकर्मी तथा बीवाईडीका ग्राहक र प्रशंसकहरूको उल्लेख्य सहभागिता थियो ।
बुद्धचोकस्थित नयाँ शोरूम बीवाईडीको कर्पोरेट आइडेन्टिटी/भिजुअल आइडेन्टिटी मापदण्ड अनुसार पूर्णरूपमा अपडेट गरिएको छ । १२ हजार ८४५ वर्ग फिट क्षेत्रमा फैलिएको शोरूमले सेल्स, सर्भिस र स्पेयर (थ्रीएस) सुविधा एकै स्थानमा उपलब्ध गराउनेछ । शोरूम पछाडि निर्माणाधीन अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउने र बीवाईडीको विश्वव्यापी सेवा उत्कृष्टता मापदण्डसँग मेल खाने सुनिश्चित गरिएको कम्पनीले जनाएको छ ।
साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले पोखरालाई दीर्घकालीन व्यापार नीतिको प्रमुख बजारको रूपमा लिइएको उल्लेख गर्दै नयाँ शोरूम र प्रिमियम गुणस्तरका उत्पादनमार्फत ग्राहकलाई उत्कृष्ट सेवा दिने प्रतिबद्धता दोहोर्याए । उनले बीवाईडी सिलायन ७ नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अघि बढाउने अत्याधुनिक प्रविधियुक्त मोडल भएको बताए ।
पोखरास्थित बीवाईडी सर्भिसमा संलग्न सम्पूर्ण कर्मचारीले बीवाईडी हेडक्वाटरका प्रतिनिधिबाट तालिम प्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरेका छन् । यसले प्रत्येक ग्राहकलाई हरेक चरणमा उच्च गुणस्तरको सेवा प्रदान गर्ने सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।