

गमगढी–बालै–पिना सडक जताततै पहिरो खस्दा अवरुद्ध




मुगु । बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो ।
सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छभने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन् । खाद्यान्न र औषधि ढुवानीमा समस्या भएको छ ।
स्थानीय दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ । दलदल माटो बगेको छ, मान्छे हिँड्न पनि समस्या छ । अवरुद्ध सडक खुलाउनतर्फ कसैको ध्यान गएको छैन ।
यसैबीच, छायानाथ रारा नगरपालिकाका कार्यवाहक प्रमुख ऐश्वर्य मल्लले वर्षा रोकिनासाथ पहिरो पन्छाइने बताए । उनले डोजरलगायत उपकरण तयारी अवस्थामा रहेका जानकारी दिए ।