

स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अप्ठ्यारो भयो: अर्थमन्त्री पौडेल




काठमाडौं । अर्थ समितिमा सोमबार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको अभाव भएर राज्यले पूर्वाधार आयोजनामा लगानी गर्न नसकेको बताए ।
अर्थमन्त्रीले अर्थ समितिमा आज भएको विधेयकमाथिको छलफलमा उनले पूर्वाधारमा लगानी गर्न स्रोत नभएका कारण राज्यले वैकल्पिक वित्तको कानुन ल्याउन खोजेको बताएका हुन् ।
उनकाअनुसार आयोजना छनोटका लागि, ट्रेजरी बाहिरबाट स्रोत जुटाउन र कार्यान्वयन गर्नका लागि यो कानुनले महत्वपूर्ण हुनेछ । प्रतिफल दिने योजनामा निजी क्षेत्रबाट समेत लगानी जुटाउन यो कानुन महत्वपूर्ण हुने उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलले भने, ‘‘अहिले राज्यले पूर्वाधारमा लगानी गर्नसक्ने अवस्था रहेन । हामीलाई स्रोतको ठूलो दबाब भयो त्यसैले प्रतिफल दिने आयोजनामा ट्रेजरी भन्दा बाहिरबाट स्रोत जुटाउन यो विधेयक ल्याइएको हो । वैकल्पिक स्रोतमार्फत पूर्वाधारहरुमा लगानी जुटाएर ठूला आयोजनाहरु अघि बढ्न सघाउ पुग्नेछ ।’
वैकल्पिक वित्तको कानुन बनेपछि स्रोतको अभाव भएर पूर्वाधार निर्माण गर्न अहिले परिरहेको समस्या सामाधान हुनेछ । खानीका अध्ययन, मल कालखाना, आइटी लगायतका क्षेत्रमा त्यस्तो स्रोत परिचालन गर्न सकिने उनले बताए ।