

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा




काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सोमबार पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा प्रमुख स्वकीय सचिव छत्रबहादुर लामामार्फत प्रदेश प्रमुखको कार्यालयमा बुझाएका हुन्।
मुख्यमन्त्री लामाको राजीनामा पत्र आज दिउँसो १ बजेतिर हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो। कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार, प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा उपचारपछि कार्यालय फर्किसकेको हुँदा छिट्टै नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुने छ। उनका अनुसार सम्भवतः आजै नयाँ मुख्यमन्त्री चयन प्रक्रिया अघि बढ्ने सम्भावना छ।
मुख्यमन्त्री लामा आइतबार साँझ पत्रकार सम्मेलनपछि राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए। तर, प्रदेश प्रमुख देवकोटा कार्यालयमा अनुपस्थित रहेका कारण राजीनामा बुझाउन नसकेर उनी फर्किएका थिए। त्यसपछि उनले राजीनामा पत्रमा हस्ताक्षर गरेर प्रमुख स्वकीय सचिवमार्फत प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए र स्वयं काठमाडौं फर्किएका थिए।