

तेल डिपोमा युक्रेनको आक्रमण, रूसको जवाफी कारबाहीले बस्ती क्षतिग्रस्त




काठमाडौँ । रूसको कालो सागर किनारस्थित प्रसिद्ध पर्यटकीय सहर सोची नजिकै रहेको तेल भण्डारण केन्द्रमा ठूलो आगलागी भएको छ। रुसी अधिकारीहरूले उक्त आगलागी युक्रेन ड्रोन आक्रमणका कारण भएको बताएका छन्।
क्रास्नोदर क्षेत्रका गभर्नर भेनीयामिन कोंद्रात्येभले टेलिग्राममार्फत जानकारी दिँदै ड्रोनको भग्नावशेषले इन्धन ट्यांकीमा खस्दा आगलागी भएको बताए। आगो निभाउन १२७ जना अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ। आगलागीको असरस्वरूप सोचीको विमानस्थलबाट उडानहरू अस्थायी रूपमा बन्द गरिएका छन्।
त्यसैबीच युक्रेनको दक्षिणी सहर मिकोलेभमा रूसी क्षेप्यास्त्र आक्रमण हुँदा सर्वसाधारणका घरहरू र पूर्वाधारहरू ध्वस्त भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार उक्त आक्रमणमा कम्तीमा ७ जना सर्वसाधारण घाइते भएका छन्। युक्रेनको आपतकालीन सेवा विभागले तीन जना घाइतेहरू अस्पतालमा उपचाररत रहेको जनाएको छ।
रूसी अधिकारीहरूका अनुसार सोचीमा भएको ड्रोन आक्रमण मात्र नभइ युक्रेनले पछिल्ला दिनहरूमा रियाजान, पेन्जा र भोरोनेजजस्ता दक्षिणी रूसी सहरहरूमा समेत आक्रमण गरेका छन्। भोरोनेजका गभर्नरका अनुसार एक ड्रोन आक्रमणमा चार जना घाइते भएका छन्।
रूसको रक्षा मन्त्रालयले एकै रातमा युक्रेनले पठाएका ९३ वटा ड्रोनमध्ये ६० वटा कालो सागर क्षेत्रमै खसालिएको दाबी गरेको छ।
यता, युक्रेनी वायुसेनाका अनुसार रूसले पनि एकै रातमा ८३ वटा ड्रोन वा ७६ ड्रोन र ७ वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको र तीमध्ये ६१ वटा खसालिएको बताइएको छ। युक्रेनका आठ स्थानहरूमा १६ ड्रोन र ६ क्षेप्यास्त्रले प्रहार भएको जनाइएको छ।
यो घटनाक्रम युक्रेनमा सर्वसाधारणविरुद्ध भइरहेका घातक हमलाहरूबीच आएको हो। केही दिन अघि मात्रै किभमा भएको रूसी हमलामा कम्तीमा ३१ जनाको ज्यान गएको थियो।
युक्रेनी अधिकारीहरूले उक्त आक्रमणलाई राजधानी किभमाथि भएको सबैभन्दा घातक आक्रमणमध्ये एक भनेका छन्। सो आक्रमणमा ३०० भन्दा बढी ड्रोन र ८ वटा क्रुज मिसाइल प्रक्षेपण गरिएको जनाइएको छ।