

थानकोट–चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन: मन्त्री देवेन्द्र दाहाल




काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन् । बिहीबार सो सडकको निरीक्षणपछि उनले काठमाडौं जोड्ने छोटो यो सडक आर्थिक विकास र समृद्धिको सहयोगीसमेत बन्न सक्ने बताए।
यो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्नसमेत सहयोग पुर्याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्याउने विश्वास व्यक्त गरे । निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उनले कुनै पनि योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्नसमेत निर्देशन दिए ।
उनले विकासका संरचनाहरुले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने बताए । यो सडकसमेत आर्थिक विकासका दृष्टिकोणले महत्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनुपर्ने बताए ।
यस्तै सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडौंवासीका लागि मात्र नभई पूर्वी नेपालसहित बागमती, मधेस र लुम्बिनीसँगको सम्पर्कका लागि समेत यो सडक महत्वपूर्ण रहेको बताए ।
यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि समेत बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक विना अवरोध र ढिलाई जतिसक्दो छिटो पूरा गराउन आवश्यक रहेकोमा जोड दिए। सडक विभागका महानिर्देशक डा। बिजय जैसीले भने कुनै पनि ढिला सुस्ती हुन नदिई निर्माण कार्यलाई गति दिने बताए ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्का लागि काम अघि बढिसकेको छ । अनुगमनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवजार खतिवडा, बुद्धिजीवी संगठनका अध्यक्ष इन्जिनियर गजेन्द्र थपलियालगायत सहभागी रहेका थिए ।
सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि २ प्याकेजमा ठेक्का लागि काम भइरहेको छ । यो सडक ८.५ किमि काठमाडौं र बाँकी मकवानपुरमा पर्छ ।