

विश्व बैंकले बढायो ऋणको ब्याजदर




काठमाडौं । विश्व बैंकले यही जुलाईदेखि लागू हुने गरी नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ । नेपालले हालसम्म विश्व बैंकसँग लिँदै आएका विकास सहायतामा ०.७५ प्रतिशत ब्याजदरलाई लिने गरेको थियो । उक्त ब्याजदरलाई बढाएर १.५ प्रतिशत पु¥याएको हो ।
‘वर्ल्ड बैंकले गएको यहीँ जुलाईदेखि इन्ट्रेस्ट रेट बढाएको छ । त्यो चाहिँ हामीले ४० वर्षभित्र तिर्ने गरी लिने गरेका थियौँ ।’ वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा भन्छन्, ‘अहिले म्याच्युरिटी अवधि पनि २४ मा थप ६ वर्ष गरेर ३० वर्ष भएको छ । यसअघि यस्तो अवधि ४० र ३८ वर्षे दुइटै दुई खालको थियो । अब ३० वर्षमा बनाइएको छ ।’
नेपाल गरिब राष्ट्रहरूको सूचीबाट स्तरोन्नति भएकाले ऋणको ब्याजदर स्वाभाविक रूपमा बढेको शर्माले बताए । हालै विश्व बैंक र एसियाली विकास बैंकले आ—आफ्नो स्ट्राटेजी पनि ल्याएकाले ती स्ट्राटेजीहरूसँग सामञ्जस्यता मिलाउने गरी विकास सहायतालाई अघि बढाउने उनको भनाइ छ ।
उनले भने, ‘कन्ट्री पार्टनर फेमबर्क भनेर वर्ल्ड बैंकले ल्यायो कन्ट्री पार्टनर स्ट्राटेजी भनेर एडिबीले ल्यायो । ती दुई वटा डकुमेन्ट पनि हामीसँगकै सहकार्यमा बनेको थियो। त्यो डकुमेन्टमा जुन कुरालाई प्राथमिकतामा राखिएको छ, त्यसलाई आधार बनाएर विकास सहायता अघि बढ्ने छ । नेपालको विकास सहायतामा उनीहरूकै ८० प्रतिशत योगदान छ ।’
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गरेको कार्यक्रम बोल्दै उनले नेपालले लिने सबै विकास सहायतालाई छनोटपूर्ण बनाउन ‘प्रोजेक्ट रेडिनेस फिल्टर’ जारी गरेको उनले जानकारी दिए । परियोजनाको गुणस्तर र प्रतिफलमा केन्द्रित भएर मात्रै फिल्टर ल्याएको उनको बुझाई छ ।