

वीरगञ्ज नाकाबाट डेढ अर्ब बढीका दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात




पर्सा । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा एक अर्ब ६४ करोड मूल्यका साना–ठूला दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८० करोड ४५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाका हुँदै विद्युतीयभन्दा इन्धनबाट चल्ने सवारीसाधन बढी भित्रिएका छन् । गत आवमा १२ करोड छ रुपैयाँ लाख मूल्य पर्ने १६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधनको आयातबाट १९ करोड ७४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।
सोही अवधिमा ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमताका १३ करोड चार लाख मूल्य पर्ने ५० थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् ।
एक सय एक किलोवाटदेखि दुई सय किलोवाट क्षमताका २४ करोड ८० लाख मूल्य बराबरका ३६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । यो नाका हुँदै ४३ करोड दुई लाख मूल्य पर्ने एक हजार ८२१ थान विद्युतीय मोटरसाइकल आयात भएका छन् ।
प्रमुख भन्सार प्रशासक लामिछानेका अनुसार १२ करोड छ लाख मूल्य पर्ने दुई सय एक किलोवाटदेखि तीन सय किलोवाट क्षमताका १६ थान विद्युतीय जिप, कार र भ्यान पनि आयात भएका छन् ।