

सरकारले १ खर्ब १३ अर्बको आन्तरिक ऋण दसैंसम्ममा उठाउने




काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यही साउनदेखि आगामी असोज (दसैं) सम्म एक खर्ब १३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने गरी कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार सो अवधिमा अवधिमा रु एक खर्ब १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्नेछ । कार्यालयले १० अर्ब रुपैयाँ बराबरका तीन वर्षेदेखि ११ वर्षे अवधिका ११ वटा विकास ऋणपत्र बिक्री गर्नेछ । यस्तै, पाँच वर्षे दुई अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ ।
यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् कात्तिकदेखि पुससम्ममा ८५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका छ । त्यसमा ट्रेजरी बिल मार्फत २५ अर्ब रुपैयाँ तथा विकास ऋणपत्र मार्फत ६० अर्ब रुपैयाँ उठाइनेछ । उक्त अवधिमा पाँच अर्ब रुपैयाँ बराबरको २८ दिनेदेखि एकवर्षे अवधिको पाँच वटा ट्रेजरी बिल बिक्री गरिनेछ । यस्तै, १० अर्ब रुपैयाँ बराबरका तीन वर्षेदेखि १० वर्षे अवधिका छ वटा विकास ऋणपत्र बिक्री गरिनेछ ।
कार्यतालिका अनुसार, आगामी माघदेखि चैतसम्ममा एक खर्ब नौ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ । सो समयमा ट्रेजरी बिलमार्फत ५० अर्ब रुपैयाँ तथा विकास ऋणपत्रमार्फत ५६ अर्ब रुपैयाँ उठाइनेछ । यस्तै, पाँच वर्षे अवधिको दुई अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र तथा ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ । कार्यतालिकाअनुसार आगामी वैशाखदेखि असारसम्ममा ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ ।
उक्त अवधिमा पाँच अर्ब रुपैयाँबराबरका ११ वटा ट्रेजरी बिलमार्फत ५५ अर्ब रुपैयाँ उठाइनेछ । सरकारले गत जेठ १५ गते नै चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ, पुँजीगततर्फ चार खर्ब ७ अर्ब ६९ करोड रुपैयाँ र वित्त व्यवस्थापनमा तीन खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा स्रोतका रूपमा राजस्वबाट रु १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट रु तीन खर्ब ६२ अर्ब, बाह्य ऋणबाट रु दुई खर्ब ३३ अर्ब र अनुदानबाट रु ५३ अर्ब जुटाउने उल्लेख छ । बजेटमा व्यवस्था भए अनुसार कार्यालयले आन्तरिक ऋण उठाउनका लागि विकास ऋणापत्र, टे«जरी बिल्स र वैदेशिक रोजगार वचतपत्र बिक्रीको कार्यतालिका सार्वजनिक गरेको हो ।