

यस्तो छ निर्यातको हिस्सामा आयातित भटमास र सूर्यमुखी तेलको अवस्था




काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको वैदेशिक व्यापार नयाँ उचाइमा पुगेको छ । भन्सार विभागका अनुसार आयात र निर्यात दुवै तथ्यांक हालसम्मकै उच्च छन् । गत आवमा नेपालले गरेको कुल निर्यातको आधा हिस्सा भने आयातित कच्चा भटमास तेल (क्रुड सोयाबिन आयल) र कच्चा सूर्यमुखी तेल (क्रुड सनफ्लावर आयल) रहेको देखिएको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा नेपालले कुल २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख बराबरको वैदेशिक व्यापार गरेको छ ।
गत आवमा १८ खर्ब चार अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा दुई खर्ब ७७ अर्ब तीन करोड बराबरको निर्यात भएको छ । त्यसबाट नेपालले १५ खर्ब २७ अर्ब नौ करोड २५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । विभागका निर्देशक किशोर बर्तौलाका अनुसार गत आवको आयात र निर्यात दुवै हालसम्मकै उच्च हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा आयात १३ दशमलव २५ र निर्यात ८१ दशमलव ८० प्रतिशतले बढेको विभागको तथ्यांकबाट देखिएको छ । समग्र वैदेशिक व्यापार १९ दशमलव २४ प्रतिशतले बढ्दा व्यापार घाटा छ प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ६९ र निर्यातको हिस्सा १३ दशमलव ३१ प्रतिशत रहेको छ ।
नेपालले सबैभन्दा धेरै वैदेशिक व्यापार गर्ने मुलुक भारतसँग गत आवमा १० खर्ब ७१ अर्ब २० करोड रुपैयाँ बराबरको आयात र दुई खर्ब २४ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । त्यसबाट भारतसँग मात्र आठ खर्ब ४६ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ बराबर नेपालले व्यापार घाटा व्यहोरेको छ ।
त्यस्तै चीनबाट तीन खर्ब ४१ अर्ब १० करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा २६ अर्ब ३० करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब इमिरेट्सलगायत मुलुकहरुसँग नेपालले बढी व्यापार घाटा व्यहारेको छ ।