

कर्णाली डेभलपमेन्ट बैंकमा रकम हिनामिना गरेको आरोपमा राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ




काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा भएको ४ अर्ब ९० करोड रुपैयाँ रकम अपचलनमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउमा परेका छन् ।
यता, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई काठमाडौंको टोखाबाट शुक्रबार पक्राउ गरेको छ । वित्तीय अवस्था खराब रहेको बैंकलाई ठिक छ भनेर प्रतिवेदन बनाएको भन्दै बस्नेतलाई पक्राउ गरेको स्रोतको भनाइ छ । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको अनियमितता अन्य धेरै ब्यक्ति पक्राउ पर्नसक्ने सुनाइएको छ।
त्यस्तै, बैंकको वित्तीय अवस्था गम्भीर हुँदा पनि अनुगमन अधिकृतका रूपमा रहेका बस्नेतले ठिक रहेको भन्दै प्रतिवेदन दिएको पाइएको छ । यसअघि सीआईबीले अनुगमनमा गएकाहरूको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।
साथै, बैंक घोटाला प्रकरणमा भारतबाट संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष एवं एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी, नीरजविक्रम शाहलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बेलामा बस्नेट्टलाई पनि थप अनुसन्धानका लागि नेपालगन्ज पठाउने बताइएको हो।