

घुस लिने मन्त्रीलाई मृत्युदण्ड: चीन




काठमाडौं । चीनमा भ्रष्टाचारविरुद्धको कठोर अभियानअन्तर्गत एक पूर्व उपमन्त्रीस्तरका अधिकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन आयोगमा उपमन्त्रीका रूपमा कार्यरत रहेका लुओ युलिनमाथि ठूला आर्थिक अनियमितता र आन्तरिक कारोबार (इन्साइडर ट्रेडिङ) मा संलग्न भएको अभियोग प्रमाणित भएपछि उनलाई मृत्युदण्ड दिइएको हो।
शान्डोङ प्रान्तस्थित एक अदालतले युलिनले २२० मिलियन चिनियाँ युआन अर्थात ४ अर्ब नेपाली रुपैयाँभन्दा बढी बराबरको घुस लिएको र शेयर बजारमा गोप्य जानकारीको दुरुपयोग गरेर आर्थिक लाभ लिएको ठहर गरेको हो।
युलिनलाई दिइएको मृत्युदण्डमा तत्काल कार्यान्वयन नहुने गरी दुई वर्षको निलम्बन थपिएको छ। त्यसको अर्थ, दोषीलाई आगामी दुई वर्षसम्म अन्य कुनै आपराधिक गतिविधिमा नफसिए मृत्युदण्ड सजायलाई आजीवन जेल वा तोकिएको कैद सजायमा रूपान्तरण गरिन सक्ने व्यवस्था रहेको छ ।
चीनले विगत केही वर्षदेखि उच्चपदस्थ सरकारी अधिकारीहरूलाई समेत लक्षित गर्दै व्यापक रूपमा भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत युलिनलाई कडा सजाय दिइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।